९ असोज ०७५, विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनने उद्देश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत प्राथमिक बिद्यालयमा आयोजित शिविरबाट ५ सय १७ जनाको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
शिविरमा १ सय ४५ जनाको भिडियो एक्सरे, ८५ जनाको ईसीजी र १ सय २१ जनाको ल्यावटेष्ट गरिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।
दाहालका अनुसार शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका २५ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ । रिफर भएका बिरामीलाई अस्पताल ल्याउन नोबेलले नै गाडीको ब्यवस्था मिलाउनेछ ।
अस्पतालमा रिफर भएर आएका बिरामीलाई कम्तिमा ५० प्रतिशत छुटसहित अवस्था हेरी निःशुल्क उपचारको ब्यवस्थासमेत मिलाईने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी गराए ।
शिविरमा बालबालिकादेखि बृद्धबृद्धासम्मले आँखा रोग, हाडजोर्नी तथा नसा सम्बन्धि समस्या र मेडिसिनमा बढी मात्रामा बिरामीले उपचार गराएका छन् । नोबेल अस्पतालबाट करिव दुई दर्जन डाक्टरहरुको टोली शिविरमा सहभागीता थियो ।