अमेरिकामा गोली चल्दा एक नेपालीसहित ३ को मृत्यु, १ नेपाली घाइते

६ असोज ०७५, काठमाडौं । अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन् ।

गत बिहीबार भएको घटनामा पर्वत माइती भई कास्की घर भएकी हाल बाल्टीमोर बस्दै आएकी ४१ वर्षीय वृन्दा गिरीको मृत्यु भएको हो भने अर्का नेपाली पूर्ण आचार्य घाइते भएका हुन ।

घाइते आचार्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले सार्वजनिक गरेको बिज्ञप्तिमा उल्लेख छ ।

घटना अमेरिकाको बाल्टिमोर भन्दा ३५ माइल उत्तरपूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको विरण केन्द्रभित्र स्नोचीया मोसेली नामकी २६ वर्षीय महिलाले अन्धाधुन्ध गोली प्रहार गरी आफूमाथि पनि गोली चलाएको बताइएको छ । प्रहरीले घाइते मासेलीलाई उपचारका लागि अस्पताल लागेको र अस्पताल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक गिरीका १४ बर्षकी छोरी र ११ बर्षका छोरा छन् । मृतक गिरीका अमेरिकामा पति, आमा, दाजु, भाई र बुहारी रहेका छन् ।

तपाइको मत