सवारी ऐन विरुद्घ चालकको प्रदर्शन, बन्दले यात्रुदेखि बिरामीसम्म बिचल्लीमा

४ असोज ०७५, राजविराज । सरकारले जारी गरेको सवारी ऐनको बिरोधमा चालकहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।

जारी ऐन चालक मैत्री नभएको भन्दै नेपाल स्वतन्त्र यातायात मजदुर संगठन नगर कमिटि राजविराजको अगुवाईमा चालकहरुद्वारा बिरोध प्रदर्शन गरिएको हो ।

सरकारले जारी गरेको ऐन त्रृटीपूर्ण भएको भन्दै सो नसच्याएसम्म सार्वजनिक आवागमनमा अनिश्तिकालिन बन्द कार्य जारी राख्ने कमिटिका अध्यक्ष भोलाप्रसाद यादवले बताए ।

यता लगातार तेश्रो दिन बिहीबार पनि यातायात ठप्प रहँदा जिल्लाको जनजीवन कष्ठकर बनेको छ । बन्दका कारण यात्रु बाहक बस, माइक्रो, मालवाहक ट्रकले सेवा दिन बन्द गरेपछि यात्रु आवागमनदेखी ढुवानी सेवा समेत ठप्प भई सर्वसाधारण मारमा परेका छन् ।

ढुवानी सेवा ठप्प भएपछि बजारमा उपभोग्य सामाग्रीको मुल्य आकासिएको छ भने ग्रामीण क्षेत्रबाट उपचारका लागि सदरमुकाम आउने बिरामी र उनका आफन्त झनै समस्यामा परेका छन् ।

बन्दकर्ताले एम्बुलेन्सलाई बन्दबाट अलग राखेपनि चर्को भाडाका कारण विपन्न समुदायका बिरामीलाई समस्या परेको छ ।

यातायात व्यवसायी दिनेश साहले आफूहरु सवारीसाधन चलाउन तयार भएपनि चालक तयार नहुँदा गाडीहरु ग्यारेजमै थन्काएर राख्नु परेको बताए । उनले भने –‘असोज १ मा विश्वकर्मा पूजाका कारण गाडीहरु चलाइएन, त्यसपछि लगातार चालकहरुको आन्दोलनका कारण यातायात नचल्दा हामी यातायात व्यवसायीहरु पनि मारमा परेका छौं ।’

यातायात नचल्दाको मौका छोपी काठमाडौं–राजविराज रुटमा उडान भर्ने श्री एयरलायन्सले पनि भाडामा अत्याधिक बृद्धि गरि यात्रुलाई मारमा पारेको स्थानीयको गुनासो छ । ३ हजार ७ सय न्यूनतम भाडा राखेको सो एयरलायन्सले अहिले ५ हजार १ सयदेखि ६ हजार २ सयसम्म भाडा कायम गरी यात्रुलाई आर्थिक भार थुपारेको स्थानीय दिनानाथ यादवले बताए ।

स्थानीयवासीले वार्ताको माध्यमबाट सवारी चालकको जायज माग सम्बोधन गरी अविलम्ब सार्वजनिक आवागमन सूचारु गराउनु पर्ने माग गरेका छन् ।

तपाइको मत