३ असोज ०७५, काठमाडौं । आज देशभर विविध कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ ।
आजकै दिन अर्थात् २०७२ असोज ३ गते पहिलो पटक जननिर्वाचित प्रतिनिधिहरुद्वारा संविधान जारी गरिएको दिनको स्मरण गर्दै संविधान दिवस मनाउन थालिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको ‘संविधान दिवस मूल समारोह समिति’ले आज बिहान सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको विशेष उपस्थिति रहेको छ ।
कार्यक्रममा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत विभिन्न सामाजिक संस्थाहरुले विभिन्न जातजातिको भेषभुषा झल्कने कार्यक्रम प्रदर्शन गरिएको छ ।
चौथो संविधान दिवसका अवसरमा सातै प्रदेश र स्थानीय तहहरुमा विशेष कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको खबर छ ।
काठमाडौँ महानगरपालिकाले पनि आफ्नो सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
कमनपाले यसअघिका वर्षमा विशिष्ट व्यक्तिका लागि मात्र बसेर हेर्ने व्यवस्थापन गर्दै आएको तर यस पटकदेखि जनसाधारणको लागि पनि व्यवस्थापन गरिएको जनाएको छ ।
अत्यन्त महत्वपूर्ण दिन – प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण देशवासीप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गरेका छन् ।
“असोज ३ गते संविधान जारी भएको दिन, आधुनिक नेपालको इतिहासको अत्यन्त महत्वपूर्ण दिन हो,” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “त्यसैले उल्लासमय वातावरणमा देशभरि नै आज भव्यरुपमा राष्ट्रिय दिवस मनाउँछौँ ।”