सबै पक्षलाई राजनीतिको मुल प्रवाहमा ल्याउन आवश्यक छ –गृहमन्त्री

१७ भदौ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

आइतबार सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउनु अहिलको आवश्यकता भएको बताएका हुन् ।

गत भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका बिभिन्न समूहसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमापूर्व सभासद सुरेश आले मगर, लिला भण्डारी, ताराकान्त चौधरी लगायत रहेको उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीसँग छलफलमा गृहमन्त्री थापाले शान्ति, स्थिरता र सुशासन आजको आवश्यकता रहेको भन्दै त्यसलाई सार्थकता दिन सबै पक्षसँग सम्वादलाई जोड दिन वार्ता टोलीका सदस्यहरुलाई आग्रह गरे ।

गृहमन्त्रीले गृह मन्त्रालयसँगको समन्वयमा वार्ता टोलीले काम गर्ने भएकोले मन्त्रालयको तर्फबाट सबै किसिमको सहयोग वार्ता टोलीलाई हुने बताए ।

वार्ता समितिका संयोजक पाण्डेले टोली गठन भएपछिको अवस्था र वार्ताका लागि भईरहेका प्रयासको बारेमा बैठकमा जानकारी गराएका थिए ।

तपाइको मत