१३ भदौ ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलन उपयोगी हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको असर न्युनीकरण, विकासका चुनौतिको सामना, दिगो विकासको लक्ष्य, गरिबी निवारण, यातायात सञ्जाल निर्माण लगायतका विषयमा सम्मेलन उपयोगी हुने बताएका हुन् ।
शिखर सम्मेलन सफल बनाउन सरकारले सम्पूर्ण तयारी गरेको बताउँदै उनले काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास–बिमस्टेकको चौथो शिखर सम्मेलनबारे जानकारी दिएका थिए ।
वर्तमान सरकारले महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न गइरहेको भन्दै प्रधानमन्त्री ओलीले विभिन्न १४ वटा क्षेत्र रहेको बिमस्टेकमा हाल सामुद्रिक अर्थतन्त्र र हिमालय अर्थतन्त्र दुई विषय थप गरिएको पनि बताए ।
बैठकमा प्रधानमन्त्रीले विमस्टेक शिखर सम्मेलनमा सात राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखबीच औपचारिक भेटघाट र द्विपक्षीयहितका विषयमा छलफल हुने कार्यक्रम समेत रहेको बताए ।