माओवादी–एमाले एकता राष्ट्रिय हित विपरीत – किराँती
९ भदौ ०७५, काठमाडौं । नेकपा (माओवादी केन्द्री)का संयोजक गोपाल किराँतीले नेपाली राष्ट्रियता एमालेसँगको एकतापछि फिक्का भएको बताएका छन् ।
शनिबार संवाद डबलीमा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै किराँतीले जनयुद्धले उचाइमा पु¥याएको नेपाली राष्ट्रियता एमालेसँगको एकतापछि फिक्का भएको बताएका हुन् ।
‘प्रचण्डले माओवादीलाई एमालेकरण मात्रै गराउनु भएन उहाँले राष्ट्रिय हित विपरीत काम गर्न अझ बलियो आधार पनि दिनु भएको छ’ किराँतीले भने ।
अर्को प्रसंगमा पूर्वमन्त्री समेत रहेका किराँतीले सरकार जनविरोधी मात्र नभएर राष्ट्रिय हित विपरीत काममा अभिमुख हुँदै गएकाले निकट भविष्यमा अर्को ठूलो आन्दोलन निम्तिने दाबी समेत गरे ।
जनविरोधी सरकार ढाल्ने आन्दोलनको नेतृत्व रोकाया र केसीले गर्ने !
राजनीतिक बिश्लेषक डा.केबी रोकायाले नेपालको वर्तमान शासकहरु पूरानाभन्दा पनि गएगुज्रेका भएको र उनीहरुसँग देश र जनताको पक्षमा काम गर्ने भन्दा विदेशीलाई खुशी पारेर अर्थोपार्जन गर्ने दाउतिर लागेको आरोप लगाए ।
रोकायाले नेपालमा आएको धर्म निरपेक्षता पनि विदेशीको डिजाइनमा भएको ठोकुवा समेत गरे ।
बर्तमान सरकारले कर्मचारीको तलब तथा आफ्नो नेता तथा कार्यकर्ता पाल्न निम्ति अनावश्यक जनताको ढाडमा करको बोझलगायतका जनविरोधी कार्य गरेकाले जनता आक्रोशित भएको भन्दै डा.रोकायाले भने, ‘यस्तो जनविरोधी सरकार ढाल्न अब देशमा ठूलो आन्दोलन हुन्छ, त्यसको नेतृत्व म र सुरेन्द्र केसी जस्ताले गर्नेछौं, किनकि राजनीतिक दलप्रति जनताको विश्वास उडिसक्यो ।’
परराष्ट्र नीति अन्तरनिर्भर हुनपर्ने
कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसीले २१ औं शताब्दीको परराष्ट्र नीति परनिर्भर नभएर अन्तरनिर्भर हुन पर्ने बताए ।
नेपालको विदेश नीति समुन्द्रीय, आर्थिक अन्तरनिर्भर मुलक पञ्चशीलको धारमा हुनुपर्ने आवश्यकता भएपनि विदेशी रिझाउने र व्यक्तिगत फाइदा लिने किसिमले नीति बनाइएको बताउँदै केसीले भने, ‘मुखमा समाजवाद भन्ने विदेशीलाई फाइदा हुने, देशलाई टाट पल्टाउने नीति छ यी शासकको ।’
सरकारले समाजवादको नारा दिएर आफ्नो खिल्ली आफैँ उडाउदै
माओवादी केन्द्रका महासचिव तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख कर्णजित बुढाथोकीले बर्तमान सरकारले समाजवादको नारा दिएर आफ्नो खिल्ली आफैँ उडाएको आरोप लगाए । उनले सरकार नै माफियाहरुको चङ्गुलमा पसेको आरोप लगाए ।
पूर्वएमाले र नेपाली काँग्रेसले १० वर्षे जनयुद्धले देशलाई पछाडि धकेलेको आरोप लगाउने गरेको र त्यो आफ्ना पूर्वसहकर्मीहरु बादल, बाबुराम तथा जनार्दनले राम्रो काम गरेर झुट्टा साबित गरिसकेको बताए ।
महासचिव बुढाथोकीले जनताको ठूलो बलिदानीबाट अहिलेको परिवर्तन आएको तर सरकारले त्यसलाई भुलेको बताउँदै भने, ‘हामीले ठूलो बलिदानी गरेर अहिलेको परिवर्तन आएको हो । फेरि पनि हामीलाई कम आँक्दै हेप्ने हो भने बिप्लव र वैद्य कमरेडसँग एकता गरेर सरकारलाई पाठ सिकाउन तयार छौं ।’
बर्तमान सरकार आन्तरिक र बाह्य सम्बन्धमा निकै कमजोर
राजनीतिक विश्लेषक तथा वाम बुद्धिजीवी प्रा.डा. गोपाल सिवाकोटीले नेपालमा अहिलेसम्म भरपर्दो परराष्ट्र नीति नबनेको बनेको बताए ।
अहिलेका शासकहरुले भन्ने गरेको नीति ‘परराष्ट्र नीति’ नभएर रणनीति भएको धारणा राख्दै सिवाकोटीले वर्तमान सरकार अघिल्ला सरकारभन्दा आन्तरिक र बाह्य सम्बन्धमा निकै कमजोर हुँदै गएको दाबी गरे ।
उनले चीन र भारतबाट ७१ प्रतिशत सहयोग भएको र नेपालको १६१ ओटा मुलुकसँग कुटनीतिक सम्बन्ध भएको र जुन २९ प्रतिशतको लागि मात्रै यति धैरै देशसँग गर्नु आर्थिक बोझका हिसाबले फाइदाजनक नभएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भरत र चीनसँग राम्रो सम्बन्ध रहेको भन्ने भनाई गलत भएको बताउँदै डा.सिवाकोटीले भने, ‘चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने चार वर्षदेखिको कसरत के भयो ? लिपुलेकको के भयो ? भारतीय छत्रछाँयामा नेपाली सेनालाई पुनामा तालिम किन ? यस्ता प्रश्नले नेपालको चीनसँगको सम्बन्ध कस्तो छ प्रष्ट भएको छ ।’
उनले भारतीयहरुले कोशी ब्यारेज सुरक्षार्थ भन्दै सेना नेपालमै राख्न अनुमतिपत्र आएको र यो सरकारले भोलि गएर त्यो अनुमति पनि दिनसक्ने गम्भीर आशंका पनि व्यक्त गरे ।