२५ साउन ०७५, काठमाडौं । नेपाल र भारतका मुख्य चाडपर्वका बेला नाकाहरुमा सहायता कक्ष राखिने भएको छ ।
शुक्रबार दिल्लीमा सम्पन्न सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलको संयुक्त बैठकमा चाडपर्वको समयमा मानिसहरुको आवतजावतलाई सहज बनाउन मुख्य नाकाहरुमा सहायकता कक्ष राखिने सहमति भएको हो ।
भारतबाट चाडपर्वमा घर फर्किएका बेला भारतीय सीमा सुरक्षा बलले नेपालीलाई दुःख दिने गरेको, सीमा क्षेत्रमा लुटिएको खबरहरु समेत आउने गरेकाले त्यस्ता गुनासालाई सम्बोधन गर्न सहायता कक्ष राख्न लागिएको हो ।
बैठकले मानव तथा लागू औषध तस्करी, हतियार ओसारपसार रोक्न सीमामा संयुक्त गस्ती गर्ने सहमति पनि भएको सशस्त्र प्रहरीले जनाएको छ ।
तीन दिनसम्म चलेको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलमा महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वको टोली सहभागी थिए ।