२५ साउन ०७५, काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा सहायतासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले शुक्रबार हस्ताक्षर गरेका हुन् ।
समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश छन् ।
समझदारी पत्रमा हस्ताक्षर हुनुअघि बंगलादेशका ऊर्जा मन्त्री हमिदले नेपालको अपार सम्भावना रहेका, जलविद्युतमा बंगलादेशले सरकारी र निजी क्षेत्रबाट जुनसुकै किसिमको सहयोग आदान–प्रदान गर्न सकिने बताए ।
मन्त्री हमिदले बंगलादेशमा ऊर्जाको आवश्यकता रहेकाले त्यसलाई पूर्ति गर्न छिमेकी र अत्यन्त घनिष्ठ देश नेपालमा सम्भावना रहेकोले बंगलादेशले –‘हामी नेपालको जलविद्युतमा लगानी गरी यहाँबाट बिजुली आफ्नो देशमा लैजान तयार छौँ ।’
बैठकमा ऊर्जा मन्त्री पुनले समकक्षी र उनको टोलीलाई स्वागत गर्दै सरकारको मार्गचित्र, नीति, कार्यक्रमबारे अवगत गराए । उनले १० वर्षमा १५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य राखिएकाले त्यही अनुसार काम भइरहेको बताए ।
मन्त्री पुनले भने –‘हामीले उपभोग गरेर पनि आगामी दिनमा ५ हजार मेगावाट बिजुली निर्यात गर्न सकिनेछ । हामी बंगलादेशसँग सहकार्य गर्न सदैव तयार छौं ।’