पर्सा । वीरगंज महानगरपालिकाले निर्धारण गरेेकोे करको नयाँ दरकाे विभिन्न संघसंस्थाले विरोध गर्दै अान्दोलनमा उत्रने निर्णय गरेका छन् ।
शनिबार वीरगंज उद्योग वाणिज्य संघको सभा हलमा बसेको विभिन्न संघसंस्थाका पदाधिकारी बैठकले महानगरपालिकाले निर्धारण गरेको कर वृद्धिको विरोध गर्ने निर्णय गरेको हो ।
बैठकले उद्योग वाणिज्य संघको अगुवाइमा दुई दर्जनभन्दा बढी संघसंस्था आन्दोलनमा जाने निर्णय गरेको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले आर्थिक वर्ष २०७५/०७६ का लागि महानगरपालिकाले दश गुणाासम्म करको दर वृद्धि गरेकाले सोको विरोधमा आन्दोलन गर्ने निर्णय गरिएको जानकारी दिए ।
शर्माले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी घर जग्गा, सम्पति, सवारी साधन , व्यापार व्यवसाय, जन्म , मृत्यु र विवाह दर्ता लगायतका शीर्षकमा महानगरपालिकाले आफूखुशी दश गुणाासम्म कर वृद्धि गरेको भन्दै त्यसको विरोधमा आन्दोलन घोषणा गरेको बताए ।
वृद्धि गरिएको कर फिर्ता नभएसम्म आन्दोलन जारी रहने भन्दै शर्माले भने, ‘नयाँ करको दर जनताको पक्षमा नरहेको र विगतमा नेपाल सरकारले खारेज गरिसकेको चुङ्गीकरलाई ब्यूँताइ महगाइँ बढाउने काम मात्र गरेकाले बाध्य भएर आन्दोलन जाने निर्णय गरिएको हो ।’