१२ साउन ०७५, जनकपुरधाम । निर्वाचित जनप्रतिनिधि वडाध्यक्षहरुले धनुषाको नगराइन नगरपालिकामा तालाबन्दी गरेका छन् ।
नगरपालिकाको नाम परिवर्तन गरी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिका स्व.पिता महेन्द्रनारायण निधिको नामबाट नगरपालिकाको नाम राख्न खोजेको भन्दै वडाध्यक्षहरुले तालाबन्दी गरेका हुन् ।
एक नम्बर वडाका अध्यक्ष प्रमोद साहले नगराइन नगरपालिकाका मेयर परमेश्वर यादवले गोप्यरुपमा परिषदमार्फत् नगराइन नगरपालिकाको नाम परिवर्तन गरी महेन्द्रनारायण निधि नगरपालिका राख्ने प्रक्रिया अघि बढाएपछि आफूहरु आन्दोलनमा उत्रिएको बताए ।
वडा नं. ७ का अध्यक्ष रामदुलार मुखियाले नगरपालिकाका मेयर यादवले गत असार २० गते भएको नगरपरिषदकै क्रममा गोप्यरुपमा नाम परिवर्तन गर्ने प्रस्ताव अघि अघि बढाएको तर छलफलमै नल्याएको जानकारी दिए ।
नगराइन नगरपालिकाको ९ वटा वडामध्ये ५ वटा वडामा कांग्रेस र ४ वटा वडामा नेकपाले जितेको छ ।
नगरपालिकाको नाम परिवर्तन गर्न नगरसभामा तत्काल रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित प्रस्ताव प्रदेश सरकारमार्फत केन्द्र सरकारलाई पठाउनु पर्ने संवैधानिक प्रावधान रहेको छ ।