४ साउन ०७५, बिराटनगर । नेपाल चिकित्सक संघले बिहीबार आह्वान गरेको देशब्यापी स्वास्थ्य संस्था बन्द कार्यक्रमको बिरोधमा बिरामी र बिरामीका आफन्तले प्रदर्शन गरेका छन् ।
डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै चिकित्सक संघले स्वास्थ्य संस्था बन्द घोषणा गरेपछि बिराटनगरको कञ्चनवारीस्थित नोबेल शिक्षण अस्पतालका बिरामी र बिरामीका आफन्तहरुले खबरदारीस्वरुप प्रदर्शन गरेका हुन् ।
‘अस्पताल बन्द गर्न पाइदैन, बिरामीको स्वास्थ्यमा खेलवाड गर्न मिल्दैन, स्वास्थ्य संस्था बन्द मुक्त घोषणा कार्यान्वयन गर, भयरहित वातावरणमा बिरामीले उपचार गराउन पाउने अधिकार सुनिश्चित गर’ लगायत नारा लगाउँदै अस्पताल अगाडि प्रदर्शन गरिएको हो ।
बिरामीको सुरक्षार्थ पहरेदारीका लागि भन्दै लाठीसहित प्रदर्शनमा उत्रिएका बिरामीका आफन्तहरुले प्लेकार्ड र बिरामी दर्ता पूर्जा हातमा लिएर अस्पतालको मूलगेट अगाडि दिउँसो करिब एक घण्टा प्रर्दशन गरेका थिए ।
नेपाल चिकित्सक संघले आवहन गरेको बन्दको बिराटनगरमा आंशिक मात्र प्रभाव देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले नोबेल शिक्षण अस्पताल, बिराट नर्सिङ होम लगायत स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा सूचारु रहेको जनाएको छ ।