२९ असार ०७५, काठमाडौं । छोराको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखी अनसन बस्दै आएकी गंगामाया अधिकारीले अनसन तोडेकी छिन् ।
शुक्रबार सरकारले दुई बुँदे सहमति गरेपछि अधिकारीले अनसन तोडेकी हुन् । उनलाई अपरान्ह ६ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस पिलाएका थिए ।
वीर अस्पतालको सघन उपचार कक्षामा राखिएकी गंगामायाले सम्झौताको लिखत बोकेर पुगेका कानून मन्त्री शेरबहादुर तामाङ, जुस पिलाउन पुगेका आयोगका अध्यक्ष शर्मा, मानवअधिकारवादीहरु तथा सञ्चारकर्मीका अघिल्तिर कागजमा हस्ताक्षर गरेकी थिइन् ।
पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख गर्नुका साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख गरिएको छ ।
गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।