२६ असार ०७५, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति चयन भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकले कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति चयन गरेको हो । उपसमितिमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकबाट पुष्पा भुसाल रहेका छन् ।
उपसमितिलाई बुधबारसम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
संसदीय सुनुवाई विशेष समितिका लागि प्रतिनिधिसभाले सोमबार सदस्य स्वीकृत गरेको थियो । जसमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।
त्यस्तै राष्ट्रियसभाबाट सुमन प्याकुरेल, नन्दा चपाईं र जीतेन्द्र देव रहेका छन् । संघीय संसदको सार्वजनिक सुनुवाई विशेष समितिमा १५ सदस्य रहने व्यवस्था छ ।