२६ असार ०७५, काठमाडौं । करिब १९ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सरकारले पुनः कार्यदल गठन गरेको छ ।
सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाली सेनाबीच भएको छलफलमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
आपूर्तिमन्त्री मातृका यादव र नेपाली सेनाका कायममुकायम प्रधान सेनापति पूर्णचन्द्र थापा, उद्योग सचिव यामकुमारी खतिवडाबीच भएको छलफलपछि सञ्चालन मोडालिटी, कानुनी र भौतिक सरचना, लागतको विषयमा अध्ययनर विश्लेषण गर्न नेपाली सेनाको तर्फबाट ३ जना, उद्योग, वाणिज्य तथा आपूर्ति मंत्रालय र अर्थ मंत्रालयको तर्फबाट ४ जना गरी ७ सदस्यीय कार्यदल गठन भएको हो ।
कार्यदलले उद्योगको मेसिनरी, पूर्वाधारको अध्ययन , संचालनको मोडालिटी र लगानीको मोडालिटि बारे १५ दिन भित्र प्रतिवेदन प्रस्तुत गरी कपड़ा उद्योग सञ्चालन गर्न आवश्य प्रक्रियाको थालनी गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बताए ।
नेपाल र चीन सरकारको संयुक्त लगानीबाट ३२ सालमा स्थापना भएका हेटौंडा कपडा उद्योग १ सय ८८ रोपनीमा छ । ३ लाख ५५ हजार स्क्वायर फिटका भवनहरू छन्
उद्योगले कपडा उत्पादन ०३५ सालदेखि गर्दै आएपनि ०५६ साल फागुनबाट बन्द भएको थियो । उद्योग सञ्चालन हुँदा १ हजार १ सय ५० जनाले रोजगारी पाएका थिए ।