५ असार ०७५, काठमाडौं । नेपाली सेनाको ७९ दिने एनसीसी जुनियर डिभिजनको तालिम सोमबारदेखि सुरु गरेको छ ।
सेनाको रणसुर गुल्म कालिकोटले जिल्लाको सदरमुकाम मान्मस्थित पञ्चदेवल माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई उक्त तालिम दिन लागिएको हो ।
तालिम शुभारम्भ गर्दै रणसुर गुल्मपति मेजर विज्ञान खनालले विभिन्न प्राकृतिक प्रकोप आउन सक्ने मुलुकमा विपद् परेका बेला स्वयमसृवकका रूपमा काम गर्ने युवादस्ता निर्माण गर्न नेपाली सेनाको राष्ट्रिय सेवादलद्वारा प्रदान गरिने ७९ दिने एनसीसी जुनियर डिभिजनको तालिम दिन लागिएको बताए ।
उनले विद्यार्थीलाई तालिम अवधिभर ड्रेस, खाना, नास्तालगायत औषधोपचारसमेत सेनाले व्यवस्था मिलाएको जानकारी दिए । १८५६ मा बेलायतबाट सुरु भएको राष्ट्रिय सेवा दल नेपालमा ०२२ सालदेखि निर्माण गर्न थालिएको हो ।
७९ दिनसम्म जुनियर डिभिजनको तालिम गरेका विद्यार्थीमध्येबाट उत्कृष्ट हुने विद्यार्थीलाई सिनियर डिभिजनको तालिममा समावेश गरिन्छ ।
उनीहरूले विभिन्न मुलुक भ्रमण गर्नेसमेत अवसर प्राप्त गर्छन् । गत वर्षको ब्याचमा पञ्चदेवल विद्यालयकै छात्रा नस्पता शाहीले श्रीलंका भ्रमण गर्ने अवसर पाएकी थिइन् ।