त्रिशूलीमा ट्रक खस्दा एकको मृत्यु, एक बेपत्ता

२६ जेठ ०७५, धादिङ ।  बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमारामा ट्रक त्रिशूलीमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्  ।

शुक्रबार राति  भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंका लागि आउँदै गरेको ना५ख ३४१५ नम्बरको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत जोगीमारा सडकबाट ९० फिट तल त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा सिन्धुपाल्चोक, बाह्रबीसेका ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठको शव फेला परेको छ । सहचालक १९ वर्षीय दुलाल शुक्रबार राति नै पौडिएर बाँच्न सफल भएका थिए । चालक श्रेष्ठको शव चालककै सिटमा फेला परेको हो ।

अर्को ट्रकका सवार सिन्धुपाल्चोक नै घर बताउने श्याम नाम गरेका सहचालक हालसम्म बेपत्ता छन् । बेपत्ता अर्का सहचालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

घाइते सहचालक दुलालका अनुसार चालकतर्फको सीसा फुटेको र सडकको डिल निर्माण गर्न राखेका ढुङ्गामा आएर चालकले अकस्मात ब्रेक लगाउँदा ट्रक ३ वल्ड्याङ्ग खाएर त्रिशुलीमा खसेको बताए । उनले आफु पनि करिब एक मिनेटसम्म ट्रकको क्याबिनमैे अड्केको बताए ।

त्रिशूली नदीमा डुबेको ट्रक शनिबार बिहान ११ बजेतिर जिल्ला प्रहरी प्रमुख डम्वरबहादुर विकको नेतृत्वमा खटिएको टोलीले  बाहिर निकालेको छ ।

तपाइको मत