२५ जेठ ०७५, काठमाडौं । दाङको भालुबाङ लमही सडक खण्डको राप्ती गाउँपालिकाको पहरुवामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
जनकपुरदेखि नेपालगन्ज जादैँ गरेको ना ५ ख १८२९ न को बस बिहान करिब साढे ६ बजे दुर्घटना भएको हो । बस तीब्र गतिका कारण दुघर्टना भएको घाइतेहरुले बताए ।
दुर्घटनामा भारत उत्तर प्रदेश लक्खिमपुरकी पाँच वर्षीया नुरवी नाईको ज्यान गएको इलाका प्रहरी कार्यालय लमही जनाएको छ । जनकपुरमा इटाभटामा काम गरेर भारतीय नागरिक नाईका अभिभावक घर फर्किन सोही बसमा आएका थिए।
दुर्घटनामा बसमा ३३ जना रहेकोमा सबै यात्रु घाइते भएको र ११ जना गम्भीर घाइते भएका छन् । घाइते मध्ये २७ जनालाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको छ भने ५ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना पछि बस चालक फारार रहेकाले चालकको अवस्था अज्ञात रहेको र खोजी जारी राखिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंहले जानकारी दिए ।