निजामती सेवाको आरक्षणमा हेरफेर गर्ने तयारी, महिलालाई ५० प्रतिशत

१७ जेठ ०७५, काठमाडौं । सरकारले निजामती सेवाको आरक्षणमा हेरफेर गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषदमा विचाराधीन रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको विधेयक’मा आरक्षण संरचना हेरफेरको प्रस्ताव गरिएको हो ।

निजामती सेवाको खुला प्रतिस्पर्धामा दिइएको ४५ प्रतिशत आरक्षण सिटमा आधा महिलाका लागि मात्र छुट्याइनेछ । त्यसमा महिला परीक्षार्थीहरुबीच क्लस्टर अनुसार प्रतिस्पर्धा हुनेछ ।

विधेयकको दफा १२ मा भनिएको छ, ‘निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगितामार्फत पूर्ति हुने पद मध्ये ४५ प्रतिशत पद छुट्याई यो प्रतिशतलाई शत प्रतिशत मानी त्यसको ५० प्रतिशत पदमा पहिला मात्र र बाँकी ५० प्रतिशत पदमा आरक्षित पुरुष तथा महिलाबीच प्रतिपर्धा गराई पदपूर्ति गरिनेछ ।’

सरकारले सेवा अवधिमा एक पटक मात्र आरक्षण दिने प्रस्ताव पनि विधेयकमा अघि सारेको छ । यसअघि एक जनाले सेवा अवधिमा कति पटकसम्म आरक्षण लिन पाउने भन्ने सीमा थिएन ।

साथै एक व्यक्तिले एक भन्दा बढी समूहबाट आरक्षणको सुविधा लिन नपाउने व्यवस्था पनि गरिएको छ । यसमा व्यक्तिले आफू कुन समूहबाट आरक्षण लिने भनेर एउटा रोज्नुपर्नेछ ।

तपाइको मत