राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि दिल्ली लैजाने तयारी

८ जेठ ०७५, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उपचारका लागि विशेष विमानमा दिल्ली लैजाने तयारी भएको छ ।

१२ दिनअघि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका घिमिरेको स्वास्थ्यमा सामान्य सुधार भए पनि आन्तरिक रक्तश्राव नरोकिएको कारण दिल्लीको मेदान्त अस्पताल लैजान लागेको हो ।

आन्तरिक रक्तश्रावको कारण पत्ता नलागेपछि विदेश लैजान परिवारस्रोतलाई सुझाएको चिकित्सक विवेक शर्माले बताए । डा. शर्माले भने- ‘१२ दिनअघि अस्पताल भर्ना हुँदा भन्दा उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएको छ तर  रक्तश्रावको मात्रा घटे पनि कारण पत्ता लगाउन हाम्रो प्रविधि पर्याप्त नभएकाले विदेश लैजान सुझाएका छौं ।’

उनले इन्डोस्कोपी, कोलोनोस्कोपी, सीटी स्क्यान, सीटीएनजीओग्राफी गर्दा कुनै जटिल समस्या नदेखिएको बताए । सानो आन्द्रामा समस्या भएकाले रक्तश्राव भएको हो कि भन्ने लागेकाले ‘इन्टेटेरोस्कोपी’ गर्नुपर्ने भएकाले  यो प्रविधि हामीसँग नभएकाले त्यसका लागि बाहिर जानुपर्ने बाध्यता भएको बताए ।

पारिवारिक स्रोतका अनुसार ०७४ माघ २४ बाट सामान्य बिरामी परेका घिमिरेलाई सुरुमा फोक्सोको समस्या देखिएकाले भैंसेपाटीको मेडिसिटीमा उपचार गर्न जाने र आउने क्रमसँगै खुट्टामा सुजन भएपछि ग्रान्डी लगिएको बताए ।

राष्ट्रकवि घिमिरेलाई सुगर, प्रेसर र पोस्टेडको समस्या देखिए पनि यसअघि अस्पताल नै भर्ना गरेर उपचार गर्नु नपरेको बुहारी विजेताले बताइन् ।

सेनाका मानार्थ सहायकरथी घिमिरेलाई मंगलबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अस्पतालमै भेटेका थिए । उनले उपचारमा सेनाको सहयोग रहने बताए ।

 

तपाइको मत