७ जेठ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरुलाई निर्देशन दिएका छन् ।
आईतबार गृहमन्त्रीस्तरीय निर्णयबाट बिभिन्न प्रदेशको प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोको प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाएका डिआईजिहरुलाई सबै क्षेत्रको सिन्डिकेट तोड्न निर्देशन दिएका हुन् ।
गृहमन्त्रीलले प्रहरी अधिकारीहरुलाई सबै क्षेत्रमा भ्रष्टचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्न समेत निर्देशन दिएका थिए ।
गृहमन्त्रीले अब कुनै किसिमको सिण्डिकेट सरकारलाई स्वीकार्य नहुने बताउँदै ‘अब स्वास्थ्य, शिक्षा देखि तरकारीसम्ममा रहेको सिण्डिकेट अन्त्य गर्न जरुरी छ । तपाईहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका सबै किसिमका सिण्डिकेट हटाउनुहोस् ।’
गृहमन्त्री थापाले सरकारको लक्ष्य विकास र समृद्धि रहेकोले त्यसका लागि सुशसान कायम गर्नु पहिलो शर्त भएकाले त्यसका लागि सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी सुरक्षा निकायको हुने बताए । उनले भने–‘गृहमन्त्रालयले तपाईहरुलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ । सबै जिम्मेवारी आफैमा महत्वपुर्ण छन् । हाम्रो अपेक्षा र विश्वास तपाईहरुले पुरा गर्नुहुनेछ ।’
त्यस्तै, गृहमन्त्रीले आफ्नो प्रदेशमा प्राकृतिक स्रोत र साधनको दोहन अत्यधिक भइरहेको बताउँदै त्यसलाई रोक्न प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिँदै अशान्ति र अस्थिरता फैलाउने विरुद्ध कडा रुपमा प्रस्तुत हुन प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।
निर्देशनको क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीको सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो ।