माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता

१ जेठ ०७५, काठमाडौं ।  पार्टी एकता प्रक्रिया सुस्ताएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान अध्यक्ष प्रचण्ड र  नेपालबीच वैदेशिक मामिला विभागको कार्यालय तुल्सीलाल स्मृति भवन ललितपुरमा भेटवार्ता भएको हो ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले करिव एक घण्टासम्म छलफलमा भएको  र छलफलमा पछिल्लो समय सुस्ताएको पार्टी एकतालाई गति दिनेबारे मै कुरा भएको बताए ।

त्यसैगरि मे ३० र ३१ मा हुने कार्ल मार्क्सको द्विसतवार्षिकी सन्दर्भको अन्तर्राष्ट्रिय गोष्ठीलाई प्रभावकारी बनाउने विषयमा पनि दुई नेताबीच वार्ता भएको गौतम ले जानकारी दिए ।

दुई पार्टीबीचको एकताका धेरै विषय मिलिसकेको अवस्थामा एमाले-माओवादी एकताप्रक्रिया लम्बिँदा कार्यकर्ता निराश भएका छन् । यो अवस्थामा नेता नेपालले अब एकतालाई गति दिएर टुंग्याउन पनि सुझाव दिएका थिए । एमाले नेता नेपालले दाहाललाई पार्टी एकता संयोजन समितिको बैठक चाँडै राखेर मिलेका कुरा टुंग्याउँदै अघि बढ्न पनि आग्रह गरेका छन् ।

भेटबारेमा दाहालनिकट स्रोतले दुई नेताबीच अनौपचारिक छलफल भएको बताएको छ । दुई नेताबीच पार्टी एकताबारेमा नै कुरा भएको स्रोतले जनाएको छ ।

भेटका क्रममा एकता प्रक्रियामा देखिएको निर्णय प्रक्रियामा नेता नेपालले गुनासो गरेका थिए भने दाहालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीले एकतामा अन्योल बढेको गुनासो राखेका थिए ।

तपाइको मत