३१ बैशाख ०७५, काठमाडौं । नेपालका चर्चित फुटबलर मणि शाहको ५१ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि कलेजोको समस्याबाट पीडित अन्तर्राष्ट्रिय फुटबल खेलाडी शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा सोमबार अपरान्ह निधन भएको हो ।
शाहको पार्थिव शरीरलार्इ मंगलबार साढे ८ बजे दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि राखिने अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । शाहको अन्त्येष्टि मंगलबार गरिने भएको छ ।
सन् १९९३ मा बंगलादेशको ढाकामा भएको छैटौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई ऐतिहासिक स्वर्ण पद दिलाउन निर्णायक भू्मिका खेलेका थिए ।
शाहले नेपाली टोलीबाट सन् १९८५ देखि सन् १९९८ सम्म खेले । उनले देशका लागि १० गोल गरेका थिए । मैदानमा १० नम्बर जर्सीमा उत्रिने उनलार्इ नेपाली म्याराडोनाका रूपमा पनि चिनिन्थ्यो ।