राजविराज जिल्ला कारागारमा क्षमता भन्दा दुई गुणा बढी कैदी बन्दी

२३ बैशाख ०७५, राजविराज । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएको छ ।

२००८ सालमा निर्मित जिल्ला कारागार साँघुरो,  माटो र ढुंगाको पर्खाल रहेको जीर्ण भवनमा क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएको हो ।  १ सय २५ पुरुष र १० महिला गरी कुल १ सय ३५ जनाको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २ सय ९४ जना कैदी–बन्दी राखिएको छ ।

पुरुषतर्फको ‘ए ब्लक’ मा १ सय ८१, ‘बि ब्लक’ मा ९६ र महिला ब्लकमा १ बालिका सहित १७ जना कैदीबन्दी राखिएको छ ।

कारागारमा कर्तव्य ज्यानका ७४ कैदी र २० बन्दी, लागूऔषधका १२ कैदी र २९ बन्दी, डाँका मुद्दाका २ कैदी, जबर्जस्ती करणीका २८ कैदी र २९ बन्दी, सार्वजनिक अपराधका ३ बन्दी, सवारी ज्यानका ७ कैदी र ४ बन्दी लगायत रहेका छन् । कैदी–बन्दीमध्ये ९ कैदी र ७ बन्दी गरी १६ जना महिला छन् । उनीहरुसँगै एक बालिका पनि आमासँगै रहेको कारागारले जनाएको छ ।

यसैगरी, कारागारमा ९ कैदी र ४ बन्दी गरी कुल १३ जना भारतीय नागरिक कारागारमा छन् ।

क्षमताभन्दा बढी कैदी–बन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने, पानी तथा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने, टाँसिएर सुत्नुपर्दा छालासम्बन्धी रोगको संक्रमणबाट पीडित हुनुपर्ने लगायतका समस्याले हैरान भएको कैदी–बन्दीले गुनासो गरेका छन् ।

तपाइको मत