२२ बैशाख ०७५, काठमाडौं । प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई पक्राउ गरेको छ ।
अपराध महाशाखाको टोलीले शनिबार अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा आन्दोलन मूल समितिको संयोजक कर्माचार्यसहित ५ पदाधिकारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का छन् ।
महासचिव सरोज सिटौला शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् । आवश्यक सेवा ऐन विपरीत सार्वजनिक यातायात बन्द गरेकाले उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
महासंघले शुक्रबार सिन्डिकेट हटाउने सरकारी निर्णयको बिरोधमा सांकेतिक हड्ताल गरेको थियो । तर, सरकारले शुक्रबार नै सेवा रोक्ने संघ तथा समितिका पदाधकिारीलाई पक्राउ गर्न सुरु गरेको थियो ।
शुक्रबार राति नै महासंघले एक विज्ञप्ति निकालेर आफ्ना पक्राउ परेका व्यवसायीलाई छाड्न सरकारसँग माग गरेको थियो ।
शनिबार सााझसम्म पक्राउ परेका व्यवसायीलाई नछाडे २७ गतेदेखिको अनिश्चितकालीन हड्ताललाई अघि सार्ने योजना महासंघको थियो ।
यही विषयमा छलफल गर्न शनिबार साँझ जम्मा भएका महासंघका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।