कांग्रेसमा पदाधिकारी मनोनयनको सकस अझै सकिएन

काठमाडौं । कांग्रेस केन्द्रीय समितिका निर्वाचित सदस्यको बैठक शुक्रबार बस्दै छ । गत १७ वैशाखमा पदाधिकारी मनोनयनका लागि डाकिएको बैठक पौडेल समूहले बहिष्कारको चेतावनी दिएपछि स्थगित भएको थियो । बैठक दिउँसो २ बजेलाई डाकिएको छ । तर, बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने वा नगर्ने भन्ने अन्योल अझै नहटेको आजको नयाँ पत्रिकामा खबर छ ।

 

गत १६ वैशाखमा निर्वाचन समीक्षा बैठक सकिने दिन सभापति शेरबहादुर देउवाले भोलिपल्टै बिहान पदाधिकारी प्रस्ताव गर्ने बैठक डाक्दा पौडेल समूहले असन्तुष्टि जनाएपछि चार दिनका लागि स्थगित गरिएको थियो । नेता पौडेलको असन्तुष्टिपछि महामन्त्री डा. शशांक कोइरालाको अग्रसरतामा चार दिन बैठक स्थगित गरिएको थियो । पौडेल समूहले विधानविपरीत हुने भने पनि उनीहरूले सहमहामन्त्री पद आफूहरूले पाउनुपर्ने दाबी गरेका छन् । ‘उहाँहरूले सहमति भनेको विधानअनुसार चल्नुपर्छ भन्ने मात्रै होइन, पदाधिकारीमा दाबेदारी हो,’ सभापति शेरबहादुर देउवानिकट स्रोत भन्छ, ‘पदाधिकारीमा सहमहामन्त्री पाउनुपर्छ भन्ने दाबी उहाँहरूको छ ।’ सिटौला समूह पनि विधानसम्मत पदाधिकारी चयन गर्नुपर्ने पक्षमा छ ।

महामन्त्रीको प्रयास जारी
महामन्त्री कोइरालाको आग्रहमा देउवाले चार दिन बैठक सारेका थिए । महामन्त्रीले बिहीबारसम्म दुईपटक नेता पौडेलसँग भेट गरेका छन् । तर, पौडेलले सहमहामन्त्री पाउनुपर्ने माग सभापतिसमक्ष पुर्‍याउन भनेको कांग्रेस स्रोतको भनाइ छ । यही माग पुर्‍याउन कोइराला बिहीबार बिहान देउवानिवास बुढानीलकण्ठ पुगेका थिए ।

यसअघि सुशील कोइराला सभापति हुँदा देउवा पक्षलाई सहमहामन्त्री दिइएको थियो । तर, यसपटक पौडेल समूहबाट महामन्त्रीमा शशांक र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भएका छन् । पौडेल समूहको मागअनुसार सहमहामन्त्री पनि दिने हो भने यो समूहसँग तीन पदाधिकारी हुन्छन् । नेता पौडेलले पनि पदाधिकारी बैठकमा सहभागिता जनाउन पाउँछन् । यस्तोमा देउवासँग उपसभापति र महामन्त्री मात्रै हुनेछन् र पदाधिकारीमा अल्पमतमा पर्नेछन् । यसकारण पनि अर्को गुटको नेतालाई सहमहामन्त्री बनाउन नसक्ने अवस्थामा देउवा छन् ।

देउवा आफैँभित्र पनि समस्या
देउवाले उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महतलाई बनाउने तयारी गरेका छन् । तर, यसअघिदेखि उपसभापतिका लागि दाबेदारी दिँदै आएका गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देउवालाई छ । त्यस्तै, महामन्त्रीका दाबेदारमा ज्ञानेन्द्रबहादुर कार्की अगाडि थिए । अर्का नेता बालकृष्ण खाण पनि दाबेदार हुन् । तर, देउवाले उनको सट्टा खड्कालाई बनाउन खोजेका छन् ।

देउवासँग चार विकल्प
देउवासँग विभिन्न विकल्प बाँकी छन् । बैठक आह्वान गर्ने र सहमतिमा पदाधिकारी चयन गर्ने, बैठक स्थगित गर्ने, पौडेल समूहलाई सहमहामन्त्री दिने, पौडेल समूहमा भए पनि आफूनिकटका नेतालाई सहमहामन्त्री दिने र उपसभापति, महामन्त्री मनोनीत गरेर सहमहामन्त्रीको विषयलाई तत्काल थाती राख्ने विकल्प छन् । पदाधिकारी प्रस्ताव भएर सहमतिमा भएनन् भने निर्वाचित ६३ केन्द्रीय सदस्यको बहुमतबाट अनुमोदन गर्नुपर्ने हुन्छ । निर्वाचित केन्द्रीय सदस्यमा देउवासँग स्पष्ट बहुमत पनि छ । तर, सहमतिमा पार्टीलाई अघि बढाउनुपर्ने वेलामा बहुमतीय प्रक्रियामा जाने मनस्थितिमा देउवा पनि छैनन् । तर, पौडेल समूहले रोकिराख्ने नीति लिने हो भने बहुमतबाटै भए पनि अघि बढ्ने मनस्थिति बनाएको देउवानिकट स्रोत बताउँछ । यता, पौडेल समूहसँग पनि निर्वाचित सदस्यमा बहुमत नभएपछि विधानको विषय झिक्दै रोक्ने पक्षमा छ । तर, यो पक्षका नेता भए पनि महामन्त्री डा. कोइराला रोक्न नहुने पक्षमा छन् ।

तपाइको मत