२० बैशाख ०७५, बझाङ । बझाङको झोताबाट सदरमुकाम चैनपुरतिर आउँदै गरेको से १ ज ८२० नम्बरको जिप बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ ।
बुधबार राति ८ बजे जयपृथ्वी नगरपालिका ७ सुवेडाको चौठा खोलामा आएको ठूलो बाढीले जिप बगाउँदा जिपमा सवार ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्ने खप्तड छान्ना गाउँपालिका २ का ३१ वर्षीय अम्मराज वन, २४ वर्षीय असु ओड र जीपचालक कञ्चनपुर दोधराका २६ वर्षीय रमेश चन्द रहेका प्रहरीले जनाएको छ ।
जीप खोलाले बगाएर झण्डै ५० मिटर तल खोँचमा पुरिएको अवस्थामा भेटिएको थियो । अप्ठ्यारो भीर र जीपलाई माटोले पुरिएकाले बिहीबार दिउँसो साढे २ बजेमात्र शव निकालिएको बझाङका प्रहरी प्रमुख डीएसपी ऋषिराम कँडेलले जानकारी दिए ।
‘जीपमा भेटिएका ३ जनाको शव जिल्ला अस्पताल ल्याउँदैछौं’ उनले भने ‘ जिपमा कति जना चढेको भन्ने यकीन भएको छैन, तीन जनाको मात्र शव भेटिएको छ।’