१६ वैशाख ०७५, राजविराज । सप्तरी जिल्लामा जापानको एक दातृ निकायले तिनकोठे भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालीकामा पर्ने मा.वि. तिलाठीमा जापानको एशोसिएशन फर नेपाल साइनेप्स सेल्फ रिलायन्स सपोट ए इन जापान नामक संस्थाले उक्त भवन हस्तान्तरण गरेको हो ।
३६ लाखको लागतमा क्रिएशन नेपाल संस्थाद्वारा निर्मित उक्त भवनको सम्पूर्ण काम सकिएपछि जापानी संस्था ए.एन.एस.एस.एस.जे. का नेपाल प्रमुख मि.केईको वाडाले हस्तान्तरण गरेका हुन् ।
फरडेज कम्पनीका मालिक रहेका वाडाले भवन हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुलाई भवनमा राम्रासँग पढ्न र पढेपछि यस्तै सामाजिक काम गर्न सुझाएका थिए । भूकम्प पछि संस्थाले शिक्षा क्षेत्रलाई विशेष ध्यान दिन थालिएको र नेपालको विकट क्षेत्रमा समेत आफ्नो योजना सफल भएपछि वाडाले भने–‘मैले सोचे न सोचेको सप्तरी जस्तो ठाउँमा आफ्नो योजना सफल भएको छ अबका दिनहरुमा बालबालिकाहरुलाई भूकम्पको त्रासमा बस्नु पर्दैन म खुसी छु ।’
जनवरी २०१५ देखि एक वर्षमा सम्पन्न गर्नुपर्ने काममा सप्तरीको बाढी र स्थानिय चुनावको कारण समयमा काम सम्पन्न हुन नसकेको प्रति भवन निर्माणका परियोजना संयोजक विवेकानन्द मिश्रले दुखेसो व्यक्त गरे ।
क्रिएशनले २०१५ को विनासकारी भूकम्पको पश्चात पुनःनिर्माणलाई प्राथमिकतामा राखेपछि ए.एन.एस.एस.एस.जे.को सहयोगमा अहिले सम्म नेपालको विभिन्न जिल्लामा १० वटा भूकम्प प्रतिरोधी विद्यालय भवन, ललितपुरमा ४९ घर र १ सामुदायिक भवन सहितको एकीकृत बस्ती निर्माण गरेको अध्यक्ष मिश्रले जानकारी गराए ।
विगत १३ वर्ष देखि नेपालको विभिन्न भागमा युवा विकास, स्वयम सेवा र वातावरणको क्षेत्रमा काम गर्दै आएका आयोजक संस्थाका अध्यक्ष आनन्द मिश्राले आफ्नो जिल्लामा काम गर्ने वातावरण निर्माण भएकोले अव जिल्लाको विकासमा ध्यान दिने प्रतिवद्धता जनाए ।
भवन निर्माणमा स्वयमसेवकको काम गरेका युवा अनुपम मिश्राले जापानका ए.एन.एस.एस.एस.जे. संस्थालाई सप्तरी जस्तो पिछडिएको क्षेत्रमा लागानी गर्न र यहाँको खस्किदो शिक्षाको साथै सामाजिक विकासको काममा हात हाल्न सुझाव समेत दिए ।
भवन हस्तानतरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, विद्यार्थीहरु, समाजका भद्रभलादमीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।