रकम हिनामिना गरी फरार भएका लेखा अधिकृत पक्राउ

१३ बैशाख ०७५, उदयपुर । वैशाख ३ गतेदेखि कार्यालय छाडेर हिँडेका कटारी नगरपालिकाका लेखा अधिकृत रबिनचन्द्र ढकाल पक्राउ परेका छन् ।

बुधबार सामाजिक सुरक्षा भत्ता वापतको ३ करोड ९८ लाख रुपैयाँ लिई फरार भएका ढकाललाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो । उनले करिब ४ करोड रुपैयाँ हिनामिना गरी फरार भएको बुधबार मात्र खुलासा भएको छ ।

उक्त रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले राष्ट्रिय वाणिज्य बैंक कटारी शाखाको खातामा जम्मा हुने गरी पठाएको थियो । जम्मा भएको केही दिनमै ढकालले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुइँटेलको कीर्ते हस्ताक्षर गरी रकम झिकेको नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।

प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुइँटेलको कीर्ते हस्ताक्षर गरी फरार भएका ढकाललाई पक्राउ गरी अख्तियारमा जिम्मा लगाइएको  मेयर श्रेष्ठले बताए ।

१ करोड ९८ लाख ७५ हजारका दरले २ पटकको रकम आफ्नो नाममा हालेका ढकालले वाणिज्य बैंकको थापाथली शाखाबाट पटक–पटक गरी २७ लाखबाहेक सबै रकम निकालिसकेको उपप्रमुख भीमकुमारी  राउतले बताइन् । राष्ट्रिय वाणिज्य वैंकको शाखा कटारीका प्रमुख उमापति बाँस्तोलाले थापाथली शाखाबाट झिकेको पुष्टि गरे ।

ढकालको खातामा रहेको उक्त रकम गएको चैत २ गते  गोविन्द नामको व्यक्तिमार्फत एक करोड ५० लाख र चैत्र ५ गते हर्कबहादुर नामको व्यक्तिमार्फत १७ लाख निकालेको पाइएको बैंकका कटारी शाखाका प्रमुख बाँस्तोलाले बताए ।

उक्त रकम कसको खातामा सारियो भन्ने अनुसन्धान भइरहेको पनि बाँस्तोलाले बताए ।

तपाइको मत