सरकारले निर्वाचनको मिति तोकेर गल्ती गरेको ओलीको आरोप

१४ भदौ ०७४, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेर सरकारले गल्ती गरेको बताएका छन् ।

थाइल्याण्डमा नियमित स्वास्थ्य परीक्षणपछि स्वदेश फर्कने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेर सरकारले गल्ती गरेको बताएका हुन् ।

सरकारलाई प्रमुख दलहरुसँग परामर्श समेत नगरी निर्वाचनको मिति तोक्ने अधिकार नरहेको भन्दै अध्यक्ष ओलीले सरकार र सत्तारुढ दलहरु एकपछि अर्को अविश्वसनीय क्रियाकलाप गर्न लागि परेको आरोप पनि लगाए ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो ।

राजपाका नेता कार्यकर्तालाई राजनीतिक चरित्र देखाउन आग्रह

एमाले अध्यक्ष ओलीले राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्तालाई राजनीतिक चरित्र देखाउन आग्रह गरेका छन् ।

संविधान स्वीकार गरेको एउटा राजनीतिक दलले शान्तिपूर्ण रुपमा गरेको अर्को दलको कार्यक्रममा ढुङगामुढा गरेर गैरसंवैधानिक हर्कत देखाएको भन्दै ओलीले राजपाका कार्यकर्तालाई राजनीतिक चरित्र देखाउन गरेका हुन् ।

उनले एमालेका नेताले एउटा टोपी लगाउँदा स्पष्टीकरण सोध्ने निर्वाचन आयोगले एमालेको कार्यक्रममा ढुङगामुढा भएको विषय नदेखेको बताए ।

यो कस्तो निर्वाचन आयोग हो ?’

‘ढुङगामुढा भएको घटनाप्रति निर्वाचन आयोग र सरकार दुबै बेखबर छन्’ ओलीले भनेका छन्, ‘एउटा टोपी लगाएको विषमया स्पष्टीकरण सोधिन्छ, यो कस्तो सरकार ? कस्तो निर्वाचन आयोग हो ?’

एमाले नेता तथा पूर्व प्रधानमन्त्री समेत रहेका माधव कुमार नेपाल सहभागि कार्यक्रममा मंगलबार धनुषामा राजपाका कार्यकर्ताले ढुङ्गा हानेका थिए ।  ओलीले जनकपुरको व्यवहार दोहोरिए एमाले चुप लागेर नबस्ने समेत चेतावनी दिए ।

तपाइको मत