२२ चैत ०७५, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा आगलागी हुँदा एक जनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् ।
बिहीबार राति नील सरस्वती मार्गमा रहेको धर्म महर्जनको ३ तले घरमा आगलागी हुँदा भाडामा बस्दै आएका ओखलढुंगाको पोखरी गाउँपालिका–२ का भेषबहादुर थापाको मृत्यु भएको हो । उनी ग्रुप फोर सेक्यूरिटी कम्पनी अन्तरगत होटल शंकरमा सुरक्षागार्ड थिए ।
उनलाई उपचारका लागि अस्पताल लगिए पनि बाटैमा मृत्यु भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बागेटीले बताए ।
प्रहरीका अनुसार घटनामा घाइते हुनेमा बर्दियाका विवेक शाही, उनकी श्रीमती गंगामाया शाहीसँगै चन्द्रमाया राई र बिना बस्नेत छन् ।
राई र बस्नेत उपचारपछि घर फर्किएका छन् भने शाही दम्पत्तिको अवस्था गम्भीर रहेकोले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आगलागी मध्यराति १२ बजे विद्युत् सर्ट भइ हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको वारुणयन्त्र आगोलाई नियन्त्रणमा लिन त्यहाँ पुगेको थियो ।