१३०औँ मई दिवसको पूर्वसन्ध्यामा अन्टुफको प्रभातफेरी

१७ बैशाख ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले १३०औँ मई दिवसको पूर्वसन्ध्यामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार बिहान लैनचौरबाट निकालिएको प्रभातफेरी केशरमहल, दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहीद गेट, सुन्धारा हुँदै काठमाडौं मल अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।

अखिल नेपाल ट्रेड युनियन महासंघले मई दिवसको पूर्वसन्ध्यामा निकालेको प्रभातफेरी । तस्बिर: श्रीराम/राजेन्द्र

प्रभातफेरीमा सहभागी नेता, कार्यकर्ताहरूले श्रमिकको “योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर, नयाँ श्रम ऐन लागू गर, श्रमिकको न्यूनतम् बेतन कार्यान्वयन गर, मूल्यबृद्धि नियन्त्रण गर, भू–माफियाहरूलाई कारवाही गर, १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्यताका साथ सफल पारौं, अखिल नेपाल ट्रेड युनियन महासंघ –जिन्दावाद, जिन्दावाद” लगायतका नाराहरू लगाएका थिए ।

सो प्रभातफेरीमा तीन नम्बर प्रदेशसभा सांसद समेत रहेका महासंघका महासचिव जगत सिंखडा, अध्यक्ष, गणेश रेग्मी, उपाध्यक्ष एसबी थापा मगर, उपमहासचिव शालिकराम काफ्ले, प्रकाश श्रेष्ठ, राजकुमार तामाङ, सचिव सोमबहादुर तामाङलगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

अखिल नेपाल ट्रेड युनियन महासंघले मई दिवसको पूर्वसन्ध्यामा निकालेको प्रभातफेरी । तस्बिर: श्रीराम अधिकारी

प्रभातफेरीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद जगत सिंखडाले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, श्रम ऐन र श्रमिकको न्यूनतम् बेतन कार्यान्वयन गराउन सम्बन्धित र सरोकावाला पक्षलाई दबाव दिने संघर्षकै कार्यक्रमको रुपमा १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन लागिएको बताए । उनले काठमाडौंको भृकुटीमण्डपमा जेटीयुसीसीको व्यानरमा यस वर्षको केन्द्रीय कार्यक्रम अन्टुफ, जिफन्ट, एनटीयुसी लगायत ट्रेड युनियनहरूले संयुक्त कार्यक्रम गरी मनाउन लागिएको बताए ।

भोलि मई १ तारिखका दिन हुने १३०औं मई दिवसको संयुक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने अध्यक्ष गणेश रेग्मीले कोणसभा समापन गर्नेक्रममा बताए ।

प्रभातफेरीपछि आयोजित कोणसभा / तस्बिर: राजेन्द्र न्यौपाने

तपाइको मत