६ मंसिर ०७५, सुनसरी । जय बाबा ईटा उद्योगका सञ्चालक दुहबी नगरपालिका–९ का मोहम्मद फिदा हुसेनको शव उठाउन स्थानीय र परिवार सहमत भएका छन् ।
बिहीबार स्थानीय प्रशासनसँगको छलफलपछि आफन्त र स्थानीयले हुसेनको शव उठाउन सहमत भएका हुन् ।
गृहमन्त्रीको राजीनामा बाहेक अन्य मागहरू सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि आफन्तहरु शव उठाउन तयार भएको दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले जानकारी दिए ।
आफन्तहरुले बुधबार र बिहीबार विहानैदेखि हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत विद्युत प्राधिकरणमा छोरालाई तुरुन्त जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।
५४ वर्षीय हुसेनको बुधबार विहान रनिगाउँ नजिकै नहरको डिलमा अज्ञात समूहले गोली हानी हत्या गरेका थिए । प्रहरीले हत्याको आशंकामा त्यही उद्योगमा काम गर्ने ६ जना भारतीय नागरिकलाई बुधबार नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।