स्थानीयद्वारा गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध

४ असार ०७५, रुपन्देही । भैरहवामा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीय वासिन्दाले अवरोध गरेका छन् ।

विमानास्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नभएकाले स्थानीय जग्गाधनीले अवरोध गरेका हुन् ।

विमानस्थलले निर्माण आयोजनाले दिएको प्रतिबद्धता अनुसार मुआव्जा वितरण नगरेको, मुआब्जामा रकममा पनि लाभकर लगाएको लगायतका विषयमा असन्तुष्टि जनाउदै उनीहरुले  गरेका हुन ।

आयोजनाले रकम निर्धारण गरेको २ महिनामा मुआब्जा वितरण गरिसक्ने आश्वासन दिए पनि एक वर्षभन्दा बढी बितिसक्दा पनि मुआब्जा नपाएकाले विमानास्थलको निर्माणाधीन रनवेमा अवरोध गरिएको सांसद सन्तोष पाण्डेले बताए ।

गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले अर्थ मन्त्रालयले ५ अर्ब रकम निकासा गरिसकेको र सो रकम आयोजनाको खातामा नआउदासम्म मात्र यो समस्या रहने बताए ।

चालु आर्थिक वर्षमा ११ अर्ब रुपैयाँ वितरण गरिसकेको बताउदै शर्माले अहिले आउने ५ अर्ब वितरणको लागि वितरणअघि गर्नुपर्ने सबै काम सकिएको बताए । उनले रकम खातामा आएपछि करिब ४ सय २५ जनालाई मुआव्जा वितरण शुरु गर्ने जानकारी दिए ।

तपाइको मत