२१ फागुन ०७५, राजविराज । राजविराज जिल्ला कै सवैभन्दा ठूलो सरकारी गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सेफ्टी टयांकीको समयमै मर्मत नुहुँदा अस्पताल क्षेत्र दुर्गन्धित हुन पुगेको छ ।
सोमवार विहान देखिको शौचालयको सेफ्टी टयांकी मंगलवारसम्ममा पनि मर्मत र सरसफाई नहुँदा निरन्तर बाहिर बगिरहेको फोहोर पानी र लेदोका कारण अस्पतालको प्रसुति र जनरल वार्ड क्षेत्र दुर्गन्धित भएको हो ।
प्रसुति र जनरल वार्डलाई लक्षित गरी बनाइएका शौचालयको सेफ्टी टयांकीका मर्मत समयमै नहुँदा दुर्गन्ध खेपर बस्ने की जोगिन अस्पताल छाड्ने दोधारमा रहेको राजगढ गाउँपालिका २ का सत्यनारायण यादवले बताए । उनले भने ‘दिसा पिसावको दुर्गन्धले बसी सक्नुछैन । जनरल वार्ड प्रवेश गर्ने बाटोमै जताततै दिसापिसाव बगिरहेको छ । अब के गर्ने ।’
दुर्गन्ध फैलिएको खबर पाएपछि नाक मुख छोप्दै अस्पताल पुगेका वडा अध्यक्ष समिर झा, माँगी लाल नाई, मो. अख्तर बाबा र सुदर्शन सिंहले अस्पताल समितिले समयमै शौचालय सेफ्टी टयांकी र फोहोरमैलाको उचित व्यवस्थापनमा ध्यान नदिदा यस्तो समस्या देखिएको भन्दै यसकालागि अविलम्ब आफुहरुले पनि पहल गर्ने बताए ।
यसबारे अस्पतालका मेडिकल सुररिटेन्डेन्ट डा. चुमनलाल दाससँग सम्पर्कको प्रयास गर्दा उनी काठमाडौं गएको जानकारी गराउँदै अस्पताल विकास समितिका एक अधिकारीले भने, ‘दुर्गन्ध हटाउन गर्नुपर्ने आवश्वक उपाय चाडै मिलाउँछौं ।’