काठमाडौं । पाँचथरको चाररातेसँग जोडिएको भारत पश्चिम बंगालको सीमामा भारतीय सुरक्षा बल (एसएसबी) को क्याम्प छ । भारततर्फ सीमाक्षेत्रमा सडक बनेको छ । यो सडक भएर आफ्नो भूभाग छिर्न नेपालीले एसएसबीलाई पूरा विवरण बुझाउनुपर्छ । तर यही सडक भएर भारतीय गाडी नेपालको भूभागमा पसी निर्बाध गुड्छन् । यसरी चेकजाँचबिना भारतीय गाडी नेपाली बस्तीसम्म आइपुग्छन् तर नेपाली भने भारतीय सुरक्षाकर्मीको कडा निगरानीमा परेको आजको नागरिकमा खबर छ ।
सन्दकपुरदेखि तिम्बु पोखरीसम्म भारतसँग जोडिएको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन । यही कारण नेपालीले सास्ती बेहोरिरहेका छन् । नेपाली प्रशासनले सीमा क्षेत्रको संरक्षण, सीमा सुरक्षा तथा यहाँका बासिन्दाको सुरक्षाको ख्याल गरेको देखिँदैन । खुला सिमानाका कारण भारतीयले सहजै नेपाली भूमिको उपभोग गरिरहेका छन् । भारतले सिमानाछेउमै सडक बनाएकाले भारतीयको व्यापार व्यवसाय पनि फस्टाएको छ । भारतीय व्यापारी गाडीमा सामान राखेर बिक्री गर्न नेपाली भूमिमा आइरहन्छन् । तर नेपालतर्फ भने बहुमूल्य जडिबुटीको समेत संरक्षण हुन सकेको छैन ।
सीमाको हरेक ६ किलोमिटरमा भारतीय सीमा सुरक्षा बलको चौकी छ । तिनले नेपालतर्फ निरन्तर निगरानी गर्छन् । यस क्रममा बेलाबेला भारतीय सुरक्षाकर्मीले नेपालीलाई दुःखसमेत दिने गरेको गुनासो सुनिन्छ । सीमा क्षेत्रमा नेपाली सुरक्षकर्मीको आडभरोसा नपाएको गोठ सञ्चालक जंग राई बताउँछन् । सीमा क्षेत्रको संरक्षण गोठ सञ्चालन गर्नेहरूले गरिरहेको उनले बताए ।
तीनपल्ट सांसद भए पनि पहिलो पल्ट चारराते पुगेका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङले सीमा क्षेत्रमा नेपालको सरकारी उपस्थिति शून्य भएको अनुभव प्राप्त गरेको सुनाए । सुरक्षामात्र नभई अन्य विभिन्न किसिमका समस्या देखिएको उनको भनाइ थियो । सीमा क्षेत्रमा पुगेका पाँचथरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र नेपाल प्रहरीका प्रमुखले सीमा क्षेत्रको अवस्था अवलोकन गरेका थिए । उनीहरुसँग स्थानीयको सोधाइ थियो– सीमा क्षेत्रमा कहिले नेपाली सुरक्षाकर्मीको उपस्थिति हुन्छ ?
केही दिनअघि पाँचथर र भारतको सिक्किमको सिमाना चिवाभन्ज्याङ पुगेका नेकपा एमालेका सचिव योगेश भट्टराईले फेसबुकमा स्टाटस लेखेका छन्, ‘भारतीय पक्षको सुरक्षा निकाय सिमानामा रहे पनि नेपालतर्फ सुरक्षा निकाय नहुँदा थुप्रै समस्या देखापरेका छन् । सीमा सुरक्षा पोस्ट स्थापना गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्छु ।’
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प राख्ने कुरा चलेको एक दशक हुन लाग्यो तर कार्यान्वयन हुन सकेको छैन । पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति बढाउने बताए ।
भारतको पश्चिम बंगाल र सिक्किमसँग पाँचथरको याङवरक र फालेलुङ गाँउपालिका जोडिएका छन् । जिल्लामा भारतसँगको सीमा ४५ दशमलव १६९ किलोमीटर लामो छ । यहाँ जंगे, मझौला र साना गरी १ सय १७ सीमास्तम्भमध्ये केही हराएको पाइएको छ । फलैंचा, च्याङथापु र प्राङबुङका सीमास्तम्भको नेपाल प्रहरीले हालै अनुगमन गरेको थियो । ९९ वटा सीमास्तम्भ हुनुपर्ने ठाउँमा ११ वटा नभेटिएको अनुगमन टोलीले जनाएको छ । भएकाहरु पनि भत्किने अवस्थामा छन् । सिदिन र मेमेङमा पर्ने १८ स्तम्भको अनुगमन बाँकी छ । चाररोत, महले भन्ज्याङ, थोकम, बन्दुके, चिवाभन्ज्याङ, बिर्खे, कालापानी, कयाटार, गैरीवासजस्ता ठाउँबाट नेपाल–भारत ओहोरदोहोर हुन्छ । वारिपारि पारिवारिक सम्बन्धसमेत रहेको छ ।
उजाडिँदै नेपाल, हराभरा भारत
भारततर्फ सिंहलिला नेसनल पार्क बनाएर वन क्षेत्रको संरक्षण गरिएको छ । नेपालतर्फ भने वन क्षेत्र उजाडिँदैछ । उच्च पहाडी क्षेत्र भएकाले बहुमूल्य जडीबुटी तथा लोपोन्मुख बन्यजन्तु पाइने भए पनि नेपाली सम्पदाको संरक्षण हुन सकेको छैन ।
भारतले निकै मेहनत गरेर जैविक विविधताको संरक्षण गरिरहेको छ। नेपालतर्फ गैरसरकारी संस्थाबाहेक सरकारले संरक्षणमा ध्यान दिन सकेको देखिँदैन । नेपाली वन क्षेत्र मासिँदै गएको छ । जडीबुटीलगायतका वनस्पति भारतीय बजारमा सहजै पुगिरहेका छन् । नेपाली क्षेत्रको जैविक विविधिता जोगाउन सरकारी तबरबाट प्रयास हुन नसकेको संरक्षणमा क्रियाशील दीपज्योति युवा क्लबका निर्देशक सुनील वान्तवाले बताए । भारतीय क्षेत्रमा वन क्षेत्रमा पस्न, रुख काट्न, सिकार खेल्न पाइँदैन तर नेपालतर्फ सहजै यस्ता गतिवधि हुने गरेका छन् ।
भारतीयले सहजै नेपाली भूमिका प्राकृतिक स्रोतसाधन उपभोग गर्छन्। सतुवा, बिख, बिख्मा, पाखनवेद, पाँचऔंले, टुड्की, टिमुर, जटामसी, लोठसल्ला, वन लसुन, केन्जो, चिम्फिङलगायतका जडीबुटी जोखिममा पर्न थालेका छन् । रेडपान्डालगायतका वन्यजन्तुको चोरी निकासी हुने गरेको छ । नेपालतर्फका सुरक्षा पोस्ट सीमा क्षेत्रदेखि निकै टाढा छन् । प्रहरीको संख्या र स्रोतसाधनको अभाव छ। सीमा क्षेत्रको अनुगमन भएको पाइँदैन । विशेष अवस्थामा मात्र सुरक्षाकर्मी सीमा क्षेत्रमा पुग्छन् ।