२६ असार ०७५, काठमाडौं । सिंहदरबार बाहिर धर्नामा बसेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरेको भन्दै दिउँसो १ बजे धर्ना सुरु हुनासाथ प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २५ जनालाई पक्राउ गरेको हो ।
शान्ति समाजले सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी निर्णय गरेको, न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको तथा हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बनेकोे आरोप लगाएको छ ।
धर्नामा मानवअधिकारकर्मीले स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन थिए ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ ।