सामाजिक सुरक्षा ऐनलाई मुक्तिका रुपमा बुझ्नु हुँदैन – शिक्षामन्त्री पोखरेल

१८ बैशाख ०७६, महोत्तरी । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले १३०औं मई दिवस संयुक्त रुपमा मनाएको छ ।

अन्टुफ–जिफन्ट महोत्तरीले “सबै श्रमिक र रोजगारदाताहरूलाई आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान” भन्ने मूलनाराका साथ बुधबार महोत्तरीको बर्दिबासमा संयुक्त रुपमा मई दिवस मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको प्रक्रियामा रहेको बताए ।

यो ऐन औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई लागू हुने बताउँदै मन्त्री पोखरेलले सरकार, पार्टी र ट्रेड युनियनलाई सँगै जोडेर लैजानु पर्नेमा जोड दिए ।

ऐन बनेर मात्रै नपुग्ने भन्दै उनले ऐन कार्यान्वयन गर्न सामाजिक वातावरण पनि बनाउनु पर्ने बताए । साथै, शिक्षालाई श्रमसँग र श्रमलाई सिपसँग र सिपलाई उत्पादनसँग जोड्दै आपसी संसय, अविश्वास, सन्देहलाई चिर्न जरुरी रहेको बताए ।

अहिले कम्युनिष्टको सरकार भए पनि पूँजीवादी व्यवस्थाले के गर्दोरहेछ ? कसरी किन्दो रहेछ ? यहाँको पूँजीवादी व्यवस्था कसरी अघि बढिरहेको छ ? ट्रेड युनियनकर्मीहरूलाई ध्यान दिएर हेर्न सुझाए ।

मई दिवसको शुभकामना व्यक्त गर्दै मन्त्री पोखरेलले सामाजिक सुरक्षा ऐनलाई अन्तिम मुक्तिका रुपमा र मुक्तिका कुरासँग मात्रै जोडेर हेर्न नहुने बताए । उनले यसलाई सर्वहारा वर्गको मुद्दा र मुक्तिसँगै जोडेर हेर्नु पर्ने साथै नयाँ ढङ्गले सोच्नुपर्ने पनि बताए ।

विशेष अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापा मगरले तीनै तहका सरकार र रोजगारदाता श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न गम्भीर बन्नु पर्ने बताए ।

उनले रोजगारदाता र औधोगिक प्रतिष्ठानहरू सामाजिक सुरक्षाको सूचीकरणमा नजाँदा, श्रमिकहरूको सूचीकरणमा नै समस्या उत्पन्न हुने र ऐन कार्यान्वयन नहुने पूरानै रोगले घरगर्न सक्ने तर्फ सचेत गराए ।

स्थानीय, प्रदेश र संघीय सरकारले आ–आफ्नो क्षेत्रमा रहेका रोजगारदाता, औधोगिक प्रतिष्ठानहरूको सूचीकरण, बेरोजगारहरूको पञ्जीकरण गर्नु पर्ने भन्दै उपाध्यक्ष थापाले स्थानीय तहमा त्रिपक्षीय श्रम सम्बन्ध समिति नै गठन गरेर सामाजिक सुरक्षा ऐन, नयाँ श्रम ऐन, न्यूनतम बेतन कार्यान्वयनको मूल्याङ्कन गर्नु पर्ने बताए । सरकारले ऐन कार्यान्वयन नगर्ने उद्यमी, रोजगारदातालाई देख्ने कि नदेख्ने, त्यस्तालाई कारवाही हुने कि नहुने भनी उपाध्यक्ष थापाले तीनै तहका सरकारलाई प्रश्न गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य प्रकाश पोखरेल, प्रदेश सदस्य चन्द्रलाल क्याप्छाकी, बर्दिवास नगरपालिका प्रमुख बिदुर कुमार कार्की, गौशाला नगरपालिका प्रमुख शीवनाथ महतो लगायतका नेताहरूले मई दिवसको चर्चा गर्दै त्यसअवसरमा शुभकामना व्यक्त गरेका थिए ।

अन्टुफ केन्द्रीय सदस्य तथा महाेत्तरी जिल्ला अध्यक्ष मुरारी प्रसाद दुलालकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिफन्टका प्रदेश सदस्य तथा महाेत्तरी क्युपेक जिल्ला सचिव नाेरमणि पोखरेलले स्वागत मन्तव्य राखेका थिए । साथै, सञ्चालन क्युपेक जिल्ला सदस्य मीन रहपालले गरेका थिए ।

तपाइको मत