२८ फागुन ०७५, काठमाडौं । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।
मंगलबार विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
नेपालले मध्यान्तरसम्म दुई गोल र मध्यान्तरपछि थप एक गोल गरेका थिए । नेपालको जीतमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले गोल गरेका थिए ।
खेलको १३ औं मिनेटमा मञ्जलीको गोलमा नेपालले अग्रता लिएको थियो भने १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल थपेका थिए ।
त्यस्तै, खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् । उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् ।
खेल अवधिभर नेपालले भुटानलाई दबाबमा राखेको थियो । एकपछि अर्को प्रहार गरेको नेपालले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । भुटानले भने एक पटक पनि नेपालको पोष्टमा प्रहार गर्न सकेन । नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।