३० जेठ ०७७, सर्लाही । जिल्लाको पर्सा गाउँपालिका–३, नारायणपुर नाकामा शुक्रबार सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठका अनुसार नारायणपुर नाका हुँदै शुक्रबार बिहान भारतीयहरु जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोजेको र रोक्न खोज्दा सीमा सुरक्षामा रहेका सशस्त्र प्रहरीको हतियार नै खोसेपछि भएको झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले सशस्त्र प्रहरीतर्फ तीन जना र भारतीय नागरिक दुई जना घाइते भएको बताएका छन् ।
घटनाका बारेमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको र सीमा नाकामा तैनाथ सुरक्षाकर्मीहरुले तस्करी रोकेपछि झडप हुँदा प्रहरीले चलाएको देखिएको जानकारी दिए ।
झडपमा भारतीयहरूले खोसेको हतियार फिर्ता ल्याइएको र घाइते सशस्त्र प्रहरीको जिल्ला अस्पताल मलङ्गवा र भारतीयहरूको सीमापारीकै अस्पतालमा उपचार भइरहेको बताइएको छ ।