१० जेठ ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकलौटी बहुमतको सरकार भएकाले ५ वर्ष नढल्ने दावी गरेका छन् ।
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको कार्यक्रममा अध्यक्ष दाहालले कम्युनिष्टहरुको एकलौटी बहुमत रहेकाले सरकार कसैले चाहेर पनि नढल्ने दावी गरेका हुन् । उनले भने- ‘हामीले कम्युनिष्टहरुको निकै सुविधाजनक एकलौटी बहुमतको सरकार बनाएका छौं । यो सरकार कसैले हिलाएर हिल्दैन, ५ वर्षमा कम्तीमा लोकतान्त्रिक मूल्य र मान्यता अनुसार चल्छ ।’
अध्यक्ष दाहालले नेपालीले गएको वर्ष ७० वर्षमा ५ वर्ष एउटै सरकारले काम गरेको देख्न र कामको मुल्यांकनको आधारमा फैसला गर्ने अवसर नपाएकोमा अहिलेको सरकारले त्यस्तो अवस्थाको अन्त्य गरेको बताए ।
उनले भने -‘पञ्चायतमा राजाले टीका लगाउने सरकार पनि ३ वर्षभन्दा टिकेन, अनि बहुदल पछि हुन्छ कि भनेको झन् खराब स्थिति आयो । अब गणतन्त्र आएपछि धेरै राम्रो होला भनेको ९/९ महिनामा फेरिने झन् विकराल अवस्था देखिएपछि यो अवस्था ल्याउने राजनीतिक त्याग तपस्या र बलिदान गर्ने हामी जनता र नेतृत्वका लागि ठूलो चिन्ताको अवस्था रहृयो ।’
कार्यक्रममा अध्यक्ष दाहालले अब पनि यस्तै अवस्था रहेमा मुलुकको अर्थतन्त्र डामाडोल हुने र मुलुकको अस्मिता नै बचाउन नसक्ने स्थितिमा पुग्ने भएकाले आफूहरु एकतामा गएको बताए । उनले भने – ‘यस्तै फेरि पनि अर्को ७० वर्ष रहने हो भने अर्थतन्त्र डामाडोल हुन्छ, अर्थतन्त्र जति डामाडोल हुँदै जान्छ यो राष्ट्रको अस्मिता त्यति नै खतरामा पर्दै जान्छ र कुनै दिन यस्तो पनि आउन सक्छ नेपालको राष्ट्रिय अस्मिता बचाउनै नसक्ने ठाउँमा पुग्ने खतरा छ । यही कुरालाई हेरेर हाम्रा उतार चढाव घु्म्ती मोडहरु र हाम्रा सबै संघर्षहरुको समीक्षा गरेर एकतामा आयौं ।’
जनमत परिवर्तन र सामाजिक न्यायको पक्षमा रहेको भन्दै उनले राजीनितक नेतृत्वले स्थिरता दिन नसक्दा जनताको चाहना पूरा हुन नसकेको र अर्थतन्त्र ओह्रालो लागेको बताए ।