२१ असार ०७५, काठमाडौं । माइतीघर मण्डलामा विरोध प्रदर्शनमा रोक लगाउने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
मन्त्रिपरिषद्, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गराएका हुन् ।
सरकारले स्वेच्छाचारी तथा अनियन्त्रित रुपमा विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको, बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने र आफ्नो विचार राख्न पाउने मौलिक हकलाई सरकारको निर्णयले अवरोध गरेको भन्दै रिट निवेदनमा सरकारी निर्णय खारेजीको माग गरिएको छ ।