१० चैत्र ०७५, राजविराज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन सप्तरी जिल्लामा तोकिएको विभिन्न परीक्षा केन्द्रमा २ सय १ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
जिल्लामा ३४ परीक्षा केन्द्र तोकिएको छ । जसमा नियमित तर्फ ८ हजार ३ सय ७३ र आशिंक (ग्रेड वृद्धि तर्फं) ४ सय १७ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाई समितिले जनाएको छ ।
समितिका शाखा अधिकृत दीप कुमार यादवले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा २ सय १ परीक्षार्थी अनुपस्थित भएको पाइएको जानकारी दिएका छन् । जसमध्ये ३९ जना छात्र र १ सय ६२ जना छात्रा छन् ।
त्यस्तै, जबर्जस्ती करणी मुद्दामा राजविराज कारागारमा बन्दी जीवन बिताई रहेका दीपेन कुमार मण्डल र लागुऔषध कारोबार अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयमा रहेका करण कुमार यादव र प्रविण थापाले समेत परीक्षा दिइरहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय एकाइका अधिकृत यादवका अनुसार जिल्ला भर कायम गरिएको ३४ वटा परीक्षा केन्द्रमा ३४ केन्द्राध्यक्ष, ३४ सहायक केन्द्राध्यक्ष, ७५ परीक्षा सहायक निरीक्षक, निरीक्षक ४ सय ३५ र १ सय ६४ कार्यालय सहायक परिचालन गरिएको छ । यस्तै ४ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए ।
परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा नेपाल प्रहरीका उपरीक्षक विष्ट, सशस्त्र प्रहरीका उपरीक्षक खेम बहादुर थापा, शिक्षा एकाईका प्रतिनिधि सहितको टोली अनुगमनमा खटिएका छन् ।
विभिन्न केन्द्रमा पुग्ने अनुगमन टोलीले परीक्षार्थीलाई मर्यादा विपरित काम नगर्न सचेत गराउनुका साथै परीक्षा मर्यादा विपरित काम गरेको पाइए निष्कासित गरिने चेतावनी समेत दिने गरेका छन् ।
तेरहौता परीक्षा केन्द्रमा पुगेका प्रहरी उपरीक्षक विष्टले परीक्षार्थीसँग मर्यादा विपरीत कार्य नगर्न र कोहीसँग चिट भए १० सेकेन्डभित्र बाहिर निकाल्न समय दिएका थिए । २÷४ जना परीक्षार्थीले तत्कालै गोजीमा रहेको चिट फ्यालेका थिए । त्यसपछि उनले भने– मर्यादा विपरीत कार्य कसैले न गर्नुस्, आफ्नो खुबी उत्तरपुस्तिकामा उतार्नुस् ।’
अनुगमनमा खटिएका सञ्चारकर्मीहरुसँगै कुरा गर्दै प्रजिअ पौडेलले प्रतिक्रिया दिए–‘तुलनात्मक रुपमा एसईई परीक्षा सुधारिदै छ । २÷४ वर्ष पहिले परीक्षा केन्द्रमा लाग्ने अभिभावकको मेला र बोराका बोरा चिट यसपालि देखिएको छैन ।’
परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण
यस वर्ष एसईई परीक्षाको पहिलो दिन आईतवार कायम गरिएको सबै ३४ वटै परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण गरिएको छ ।
जिल्ला बाल कन्याण समितिको अगुवाईमा सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण गरिएको हो ।
समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले परीक्षामा सहभागी हुने कतिपय छात्रा परीक्षार्थीमा परीक्षाको समयमा रजस्वला (महिनावारी) हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सेनेटरी प्याड वितरण गरिएको बताए ।
परीक्षा अनुगमनका क्रममा प्रजिअ पौडेल, प्रहरी उपरीक्षक विष्ट, सशस्त्र प्रहरी उपरीक्षक थापा तथा समितिका सदस्य सचिव वैद्यनाथ झा लगायतले केन्द्राध्यक्षहरुलाई परीक्षामा सहभागी छात्राहरुको संख्या अनुसारको सेनेटरी प्याड हस्तान्तरण गरेका थिए ।