देवराम यादव/१३ जेठ ०७७, सप्तरी । जिल्लाको कञ्चनरुप नगरपालिका ११ मा कोरोना भाइरसको शंकास्पद लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर महतोले कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया गर्भवती महिलाको घरमै निधन भएको जानकारी दिए ।
महतोले भने, “उहाँलाई कोरोना संक्रमणको जस्तो ‘निरन्तर ज्वरो आउने, श्वास प्रश्वासमा समस्या रहेकाले घरमै आइसोलेसनमा राखिएको थियो ।”
गत जेठ ८ गते राजविराजस्थित डा.बिनिता यादवसँग गर्भवती जाँच गराएकी उनलाई त्यसदिन १०२ दशमलव ४ डिग्री ज्वरो आएको पाइएको महतोले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले महिलालाई पिसाबको संक्रमण (युटीआई) भएको र चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएको बताए ।
सोमबार रातिदेखि श्वास लिन अति नै समस्या भएपछि मंगलबार राजविराजतर्फ ल्याउने क्रममै उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महतोले जानकारी दिएका छन् ।
कोरोनाको लक्षण देखिएकी महिलाको मृत्यु भएपछि स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइसकिएको पनि उनले बताए ।
मृतकको शवलाई के गर्ने भन्नेबारेमा बसेको कञ्चनरुप नगरपालिकाको बैठकले स्वाब परीक्षण रिर्पोट नआए पनि आफन्त ५ जनाले ठेलियामै अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।