१३ जेठ ०७९, काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संघीय संसदलाई कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने माध्यम बनाइएको भन्दै कटाक्ष गरेकी छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा एमाले संसदीय दलका नेता केपी ओलीले बिहीबार सत्ता गठबन्धनविरुद्ध तीन घण्टा लामो भाषण गरेपछि सांसद घर्तीले आपत्ति जनाएकी हुन् ।
संसद आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भएको भन्दै उनले भनिन्, ‘संसद भनेको आम जनताको भावना अभिव्यक्त गर्ने थलो हो । जनताको सार्वभौम सत्ताको उच्चतम प्रयोग आफ्ना प्रतिनिधिमार्फत अभिव्यक्त हुने गर्दछ, तर केही दिनयता संसदमा भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलको रुझान हेर्दा एकातिर कुण्ठा र आक्रोश अभिव्यक्त भइरहेको छ भने, अर्कातिर मूल विषयबाट विषयान्तर हुने प्रवृति देखिएको छ ।’
उनले मुलुकको विकासका लागि सत्ता पक्ष र प्रतिपक्षबीच हातेमालो हुनुपर्नेमा जोड दिइन् ।