३ असोज ०७५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छन् ।
संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्न जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिकलाई अपिल गर्दै यस्तो बताएकी हुन् ।
राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेकी छन् ।
‘सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ’ राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा आजको दिनले देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने कामना व्यक्त गर्दै संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न सफलता प्राप्त हुने अपेक्षासमेत व्यक्त गरेकी छन् ।