१८ असोज ०७५, रुपन्देही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधान नमान्ने तत्वहरु प्रदेशको सुरक्षा चुनौतीका रुपमा रहेको बताएका छन् ।
बुधवार बुटवलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आन्तरिक सुरक्षा व्यवस्थित बनाउन आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
बाह्रवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, नेपाली सेना, स–शस्त्र र अनुसन्धान ब्यूरोसँग गरिएको छलफलमा मुख्यमन्त्री पोखरेलले भने, ‘संविधान मान्दैनौं भन्ने संगठन, समूह देखिन्छ, यसलाई नियन्त्रण गर्नुपर्छ ।’
अधिकारमुखी राजनीति सकिएको भन्दै मुख्यमन्त्री पोखरेलले संविधानअनुसार नै समस्याको समाधान खोजिनु पर्ने बताए ।
प्रदेश ५ सरकारप्रति जनताको आशा र विश्वास बढ्दै गएको बताउँदै उनले भने ‘सात महिनामै जनताले प्रदेश सरकारलाई खोज्न थालेका छन्, यो हाम्रो सफलता हो, शान्ति सुरक्षामा पनि प्रदेश सरकारको खोजी भइरहेको छ ।’
मुख्यमन्त्री पोखरेलले अहिले कञ्चनपुरको घटनापछि प्रहरी प्रशासनप्रति विश्वास गुमेको भन्दै त्यस्तो अवस्था आउन नदिन र सुरक्षा निकायलाई जनताको विश्वास जित्ने गरी परिचालन हुन निर्देशन दिए ।