११ असार ०७५, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले यो शैक्षिक सत्रदेखि नर्सिङ अध्ययनमा पुरुषहरुलाई पनि अध्ययन गर्न पाउने भएका छन् ।
असार ५ गते बसेको काउन्सिलको बैठकले शैक्षिक सत्र २०७५/७६ देखि १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको हो ।
काउन्सिलले उक्त निर्णय कार्यान्वयमा ल्याउन सबै विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई जानकारी गराइसकेको छ ।
काउन्सिलको यो निर्णयसँगै अव नर्सिङ कलेजहरुले कुल विद्यार्थी भर्नामध्ये कम्तिमा १५ प्रतिशत पुरुषलाई भर्ना गर्न पाउनेछन् ।
नर्सहरुको छाता संस्था नेपाल नर्सिङ संघ र स्वास्थ्य मन्त्रालयले केही समय अगाडि गठन गरेको नर्सिङ क्षेत्रका समस्या समाधानका लागि गठित समितिले पनि नर्सिङ अध्ययनमा पुरुषलाई अवसर दिनुपर्ने सुझाब दिएको थियो ।
काउन्सिलको तथ्यांक अनुसार नेपालमा २०५० सालभन्दा अगाडि चार ब्याचसम्म पुरुष नर्स उत्पादन भएका थिए । चार वर्षको अवधिमा नेपामला ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएकोमा हाल ७० जना पुरुष नर्स कार्यरत छन् ।
नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा ८१ हजार ९० नर्स दर्ता छन् । त्यसमध्ये ४९ हजार ३४ जना नर्स, ३१ हजार २ सय २१ अनमी र आठ सय ३५ विदेशी नर्सको दर्ता छ ।
नेपाल नर्सिङ संघको पछिल्लो तथ्यांक अनुसार दर्ता भएका नर्समध्ये सरकारी जागिरमा १२ हजार र निजी स्वास्थ्य संस्थामा २२ हजार नर्स कार्यरत छन् । संघकै तथ्यांक अनुसार करिब १५ हजार नर्स विदेसिएका छन् ।