शुल्कवृद्धिको विरोधमा शिक्षा विभागमा विद्यार्थीहरुको धर्ना

१२ बैशाख ०७५, काठमाडौं । निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले शिक्षा विभागमा धर्ना दिएका छन् ।

बुधबार  अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौंलगायत विद्यार्थी संगठनले शिक्षा विभाग भक्तपुरमा करिब डेढ घण्टा धर्ना दिएका हुन् ।

भक्तपुरको सानोठिमीस्थित विभागको कार्यालयमा १० बज्नुअघि नै पुगेका विद्यार्थीहरुले विभागका कर्मचारी प्रवेशमा रोक लगाएका थिए । त्यसक्रममा केहीबेर घम्साघम्सी समेत गरेका थिए ।

निजी विद्यालयहरुले शिक्षा मन्त्रालयले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ कार्यान्वयन नगरेको भन्दै ती संगठनहरुले विरोध जनाउँदै आएका छन् ।

अनेरास्ववियूका कार्यवहाक अध्यक्ष महेश बर्तौला, नेविसंघ अध्यक्ष नैनसिंह मगर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अखिल छठौंका अध्यक्ष विमल पोखरेल लगायतले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

वैशाख १४ गतेभित्र शुल्क फिर्ता लिन देशभरका स्थानीय तहका प्रमुखहरुको कार्यालय घेराउसहित धर्ना दिने ती विद्यार्थी संगठनले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आगामी बजेटमा शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्टाउन, चर्को शुल्क वृद्धि घटाउन, शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थीलाई कर्जा दिन, विद्यालय तहको शिक्षा निशुल्क बनाउन दबाव दिने उद्देश्यले प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाउने अनेरास्ववियूका सचिव आरसी लामिछानेले बताए ।

 

 

तपाइको मत