शव व्यवस्थापनमा अवरोध गरेपछि प्रहरीको लाठी चार्ज : वडा अध्यक्षसहित केही स्थानीय घाइते

२६ जेठ ०७७, कास्की । प्रहरीको लाठी चार्जबाट पोखरा महानगरको वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोलासहित केही स्थानीय घाइते भएका छन् ।

कोरोना संक्रमितको शव बोकेको गाडीलाई सडकमा अवरोध गर्न आएपछि प्रहरीले लाठी चार्ज गर्दा वडाध्यक्ष बास्तोलासहित केही स्थानीय सामान्य घाइते भएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न गएको गाडीलाई रोक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत आएपछि प्रहरीले लाठी चार्ज गर्दा स्थानीयसहित वडाध्यक्षलाई सामान्य चोट लागेको हो ।

वालिङ नगरपालिकाका कोरोना संक्रमितको आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा राति मृत्यु भएपछि शव व्यवस्थापनको जिम्मा पोखरा फूलबारीस्थित भगवती दल गणलाई दिइएको थियो ।

नेपाली सेनाले उनको शव सेती नदीस्थित रिठ्ठे घाटमा गाड्ने निधो गरेर खाल्डो खनेर ठिक्क पारिसकेपछि वडा नम्बर ११ र २० का वासिन्दासँगै पोखरा महानगरको वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ, प्रदेश सांसद विन्दुकुमार थापा समेतले शव लैजान अवरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्नु परेको थियो ।